नेपालमा लगानी विस्तार गर्न महासंघ अध्यक्षकाे आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आग्रह गरेका छन् ।
आइतबारदेखि काठमाडौंमा सुरू तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा ढकालले नेपालमा अधिकांश क्षेत्रमा लगानी सम्भावना रहेको भन्दै नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्ने बताए । विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने ढकालको भनाइ थियो ।
नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै उनले विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरुमा लगानीको सम्भावना देखाएका छन् । अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत व्यापार सम्झौताको स्मरण गरे । त्यसैगरी बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गरे ।
नेपालको साँस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशील जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने ढकालले बताएका छन् ।
अर्को महत्वपूर्ण र सम्भावना भएको क्षेत्र दक्ष जनशक्ति भन्दै ढकालले यसका लागि नेपालमा उच्चस्तरको प्राविधिक स्कूल स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । ‘नेपालमा रहेको दक्ष श्रमशक्तिको अभावलाई मात्र समाधान गर्ने छैन मुलुकबाट वैदेशिक रोजगारका लागि जाने ठूलो जनशक्तिलाई दक्ष बनाई उनीहरूको क्षमता अभिवृद्धि गर्दै विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सको रकम पनि बढाउन सहयोग पुग्नेछ’, उनको भनाइ थियो ।
हालै नेपाल सरकारले अध्यादेशमार्फत लगानीका लागि बाधक ठानिएका केही पुराना कानूनहरु संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध रहेको समेत उनले बताए । महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण र साझेदारीमा तयार रहेको ढकालले बताए ।