निजी सवारीसाधनमा यात्रु ओसारपसारमा राेक लगाउन माग

ट्याक्सी व्यवसायीले दुई पांग्रे तथा चार पांग्रे (रातो नम्बर प्लेट) लाई सार्वजनिक सवारीसाधनसरह यात्रु ओसारपसार गर्ने कार्य रोक्न माग गरेका छन् ।
अखिल नेपाल यातायात मजदुर संघ, उपत्यका ट्याक्सी विशेष समिति, नेपाल ट्याक्सी चालक संघलगायतले विज्ञप्ति निकाल्दै रातो नम्बर प्लेट भएका मोटरसाइकल र चार पांग्रे सवारीसाधनमा यात्रु बोक्न रोक्नुपर्ने माग राखेका छन् । उनीहरुले उक्त कार्य नरोकिए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
‘हामीले पटकपटक सम्बन्धित निकायहरुमा कानूनविपरीत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा २ र दफा १२ को उपदफा १ को बर्खिलाप हुनेगरी २ पांग्रे तथा ४ पांग्रे (रातो नम्बर प्लेट) का सवारीसाधनहरुलाई सार्वजनिक सवारीका साधनसरह यात्रु ओसारपसार गर्ने गराउने कार्यलाई रोक्न अग्रह गरेका थियौं, सम्बन्धित निकायले हाम्रो आग्रहलाई बेवास्ता गरी कानूनविपरीतका कार्यहरु तत्काल नरोकेमा ट्याक्सी व्यवसायी र पेशाकर्मीहरु आन्दोलित हुनेछौं’, विज्ञप्तिमा भनिएको छ ।
रातो नम्बर प्लेट भएका बाइकले पठाओ र इन्ड्राइभर सञ्चालन गरिरहेका छन् ।