विद्युत प्राधिकरणले कमायाे ९ वर्षमा ४७ अर्ब नाफा, आइपिओ जारी गर्ने घाेषणा

आर्थिक वर्ष २०७२/७३ सम्म ९ अर्ब घाटामा रहेको नेपाल विद्युत प्राधिकरणले नौ वर्षमा ४७ अर्ब नाफा कमाएको छ ।

विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार आफ्नो दोस्रो कार्यालयको तीन वर्ष पूरा भएको अवसर पारेर आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार प्राधिकरण आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा थियो । त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको उनले बताए ।

‘गत आर्थिक वर्षमा मात्रै १३ अर्ब ३१ करोड नाफा कमायो, आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा छ’, प्रवन्ध निर्देशक घिसिङले भने, ‘यस अवधिमा विद्युतको महसुल ३ पटक गरी करिब २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको छ ।’

प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र शुल्क कायम गरिएको छ ।

घिसिङका अनुसार इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्नसक्ने क्षमतामा देखिएको छ ।

घिसिङले चाँडै नै आईपीओ जारी गर्ने घोषणा गरेका छन् । प्राधिकरणको कुल पुँजीको १० प्रतिशत आईपीओ जारी गर्ने उनले बताए । आईपीओबाट संकलन भएको रकम ठूला जलविद्युतमा लगानी गरिने उनले बताए ।

आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ थियो । अहिले ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

घिसिङले आम्दानी बढाउँदै लगेको प्राधिकरणले प्रसारण लाइन मात्र नभई विद्युत् उत्पादनमा पनि लगानी बढाएको बताएका छन् । प्राधिकरणको सहायक कम्पनीमार्फत १४० मेगावाटको तनहुँ जलाशययुक्त, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी र २० मेगावाटको रोल्वालिङ आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको रिपोर्ट पेस गरेका छन् ।

यसैगरी प्राधिकरणको सहायक कम्पनी चिलिमेको अगुवाइमा निर्माणाधीन २७० मेगावाटका आयोजनाहरू सञ्चालनको अन्तिम चरणमा पुगेका छन् । चिलिमे जलविद्युत कम्पनीले करिब ३०० मेगावाटका थप जलविद्युत आयोजनाहरू अगाडि बढाएको छ । ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८.२ मेगावाटको माथिल्लो मोदी, २१० मेगावाटको चैनपुर सेती, ९९ मेगावाटको तामाकोसी पाँचौको निर्माण सुरु भएको उनले बताएका छन् ।

एक हजार ६३ मेगावाटको माथिल्लो अरुण र ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाहरू वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने अवस्थामा पुगेका छन् । दुवै आयोजनाहरूको निर्माण पूर्वका तयारीका कार्यहरू भइरहेका छन् । ६८३ मेगावाटको सुनकोसी–३ जलाशययुक्त जलविद्युत आयोजनालाई भने नेपाल र बङ्गलादेशका सरकारी निकायको लगानीमा निर्माण गर्ने गरी अगाडि बढाइएको घिसिङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

विद्युत प्राधिकरणले कमायाे ९ वर्षमा ४७ अर्ब नाफा, आइपिओ जारी गर्ने घाेषणा