किसानकाे बक्याैता भुक्तानी गर्न सरकारले डीडीसीलाई ६० करोड ऋण दिने

सरकारले दुग्ध विकास संस्थान (डीडीसी) लाई ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि शर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो ।

भदौ १७ गते अर्थ मन्त्रालयले शर्तसहित ऋणका लागि सहमति दिएपछि मन्त्रिपरिषद्को बैठकले दुग्ध किसानको बाँकी बक्यौताका लागि ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । अर्थबाट उक्त रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको थियो ।

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दूध किसानको बाँकी रकम दशैं अघि नै भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । त्यसैअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मन्त्री अधिकारीले निरन्तर पहल गरेका थिए ।

डीडीसीले यो रकम तत्कालका लागि किसानलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ । चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद् प्रस्ताव पेस गर्न सहमति दिइएको हो ।

कृषि मन्त्री अधिकारीले दसैँ अघि नै दुग्ध किसानको बाँकी रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आएका छन् । उनले असार ३१ गते जिम्मेवारी सम्हाल्दा दुग्ध किसान १ अर्ब ५४ करोड रकम बक्यौता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

किसानकाे बक्याैता भुक्तानी गर्न सरकारले डीडीसीलाई ६० करोड ऋण दिने