सेवा आयातमा विदेशी मुद्रा सटही सुविधा वृद्धि

नेपाल राष्ट्र बैंकले भारतबाहेक देशबाट सेवा आयात गर्दा प्रतिपटक विदेशी मुद्रा सटही सुविधा वृद्धि गरेको छ । केन्द्रीय बैंकले यसभन्दा अघि ५ हजार अमेरिकी डलर रहेको परिवर्त्य विदेशी मुद्रा सटही सुविधा ८ हजार डलर बराबर बनाएको हो ।
केन्द्रीय बैंकले विदेशी विनिमयसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै भारतबाहेक देशबाट सेवा आयात गर्न ८ हजार डलर बराबर विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था गरेको हो ।
त्यसैगरी केन्द्रीय बैंकले नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाले प्रतिपटक ८ हजार डलरभन्दा बढीको विदेशी विनिमयमा दायित्व सिर्जना हुने गरी विदेशस्थित कुनै सेवा प्रदायकसँग सम्झौता गर्नुपरे वा सेवाबापत भुक्तानी गर्नुपर्ने भए आफ्नो नियामक निकायबाट स्वीकृति पाएको हुनुपर्छ । यसअघि यस्तो सटही सुविधा ५ हजार डलर बराबर थियो ।
नियामक निकायबाट सम्झौता/सहमति स्वीकृत वा सटही सिफारिसका आधारमा सेवा आयात गर्दा प्रतिपटक १५ हजार डलर बराबर अन्य परिवर्त्य विदेशी मुद्रासम्म वाणिज्य बैंकबाट नै सटही सुविधा प्रदान हुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसअघि यस्तो सटही सुविधा १२ हजार डलरसम्म थियो ।
त्यसैगरी नेपाली बीमा कम्पनीले विशेषज्ञ सेवाका लागि विदेशी प्राकृतिक व्यक्तिलाई भारतीय रुपैयाँ वा परिवर्त्य विदेशी मुद्रामा गर्नुपर्ने बिलबिजक बमोजिम भुक्तानीको सटही सुविधा नेपाल बीमा प्राधिकरणको सिफारिस समेतका आधारमा वाणिज्य बैंकबाट सटही सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस्तो सटही सुविधाका लागि रकम सम्बन्धी सीमा लागु नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । तर, नेपाली बीमा कम्पनीले विशेषज्ञ सेवाका लागि प्राकृतिक व्यक्तिलाई गर्नुपर्ने भुक्तानीको सटही सुविधा बीमा प्राधिकरणको सिफारिस समेतका आधारमा वाणिज्य बैंकबाट प्राप्त गर्न सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।