वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउनदेखि कार्तिकसम्म) को अवधिमा मुलुकको कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष (२०८१/८२) को सोही अवधिमा ५ खर्ब ६६ अर्बको व्यापार भएकोमा यस वर्ष बढेर ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको हो ।
भन्सार विभागले आइतबार सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट हुने निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष (२०८१/८२) को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । निर्यातमा देखिएको यो वृद्धि अर्थतन्त्रका लागि सकारात्मक संकेत हो ।
निर्यातसँगै आयातमा पनि वृद्धि देखिएको छ । यो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १८.७१ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोडको आयात भएको थियो ।
निर्यातमा ठूलो सुधार भए तापनि आयातको उच्च परिमाणका कारण मुलुकको व्यापार घाटा भने बढेको छ । विभागका अनुसार चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ११.९९ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा मुलुकको व्यापार घाटा ७१ लाख रुपैयाँ रहेको विभागको तथ्यांकमा उल्लेख छ ।