व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्ब बजेट छुट्याउन सुझाव

व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन निर्यात व्यवसायीहरुले सरकारलाई सुझाव दिएका छन् ।
नेपाल हस्तकला महासंघले शुक्रबार नेपाल निर्यात परिषद् र फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नवनिर्वाचित पदाधिकारीहरु तथा कार्य समिति सदस्यहरुकोे सम्मानमा आयोजना गरेको कार्यक्रममा निर्यात व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् ।
नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले अब व्यापार घाटा घटाउनका लागि ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन जरुरी रहेको बताए । उनले निर्यात गर्ने उद्योगीहरुका लागि छुट्टै संस्था वा विभाग नभएका कारण समस्या भइरहेको तर्क गरे ।
हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले निर्यात व्यवसायलाई थप सहज बनाउन आफूहरुले तीनै तहका सरकारमार्फत हस्तकला क्षेत्रका लागि नीति निर्माणको पहल गरिरहेकाे बताए । उनले ४२ विधामा १२ अर्ब बराबरको हस्तकलाका सामान ६० देशमा निर्यात भइरहेकाे तर सरकारले निर्यातलाई थप सहज बनाउन नसकेको बताए ।
फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नव निर्वाचित अध्यक्ष रुद्रप्रसाद न्यौपानेले फुटवेयर लगायत छाला तथा छालाजन्य वस्तुहरुमा फरक ढङ्गबाट सुरु गर्ने बताए ।
हस्तकला क्षेत्रमा देशभर करिब १० देखि ११ लाख व्यवसायी आबद्ध छन् ।