मर्स्याङ्दीकाे बिजुली ल्याउने २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन

मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको छ ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ निर्माण गरिएको सबस्टेसन परिसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गरेका हुन् ।
काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि २२०/१३२ केभी, ३२० एमभीए क्षमताको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हब हो ।
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।
तनहुँ, गोरखा, चितवन धादिङ र काठमाडौंमा निर्माण गरिएका प्रसारण लाइनको लम्बाइ ८२ किलोमिटर छ । प्रसारण लाइनमा २३३ वटा टावर निर्माण गरिएको छ । प्रसारण लाइनलाई हाल १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।
मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आवद्ध गरिएको छ ।
त्रिशूली र मर्स्याङ्दीका दुवै प्रसारण लाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट ) मा आवद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।
मर्स्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारण लाइनबाट आएको करिब १/१ हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आवद्ध भई त्यहाँबाट करिब २ हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुने छ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजना सुरु गरिएको हो । आयोजनाको लागत करिब ८ अर्ब रुपैयाँ रहेको छ ।