‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी एयरलाइन्सलाई पनि ग्राउन्ड ह्याण्डलिङकाे अनुमति’

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी एयरलाइन्सलाई ग्राउन्ड ह्याण्डलिङकाे अनुमति दिने बताएका छन् ।
हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले मात्रै कमर्सियल ग्राउन्ड ह्याण्डलिङकाे अनुमति पाएको छ । अन्तर्राष्ट्रिय उडानका लागि अनुमति प्राप्त अन्य एयरलायन्सहरुले पनि यस विमानस्थललाई सञ्चालन आधार बनाई नियमित उडान सेवा सुरु गरेमा त्यस्ताे अनुमति दिइने तामाङले बताएका छन् ।
अठोट नेपालले शनिबार नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री तामाङले सो कुरा बताएका हुन् । उनले वायुसेवा सञ्चालन संस्थालाई व्यावसायिक ग्राउन्ड ह्याण्डलिंग सेवा प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५.२ बमोजिम प्रक्रिया सुरु गर्न प्राधिकरणलाई निर्देशन दिइएको बताए ।
यसअघि नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउन्ड ह्याण्डलिंग गर्ने अनुमति प्राप्त गरेको थियो । वायुसेवा निगमले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियस्तरको भूमिस्थ प्रबन्ध सेवा दिँदै आएको छ ।