मधेश सरकारकाे घाेषणा : किसानलाई पेन्सन

मधेश सरकारले आगामी आर्थिक वर्षदेखि किसान कार्ड वितरण र किसानलाई पेन्सन दिने भएको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट शनिबार प्रदेशसभामा प्रस्तुत गर्दै अर्थमन्त्री भरत प्रसाद साहले किसान कार्ड र पेन्सनका लागि बजेट विनियोजन गरेको बताए ।
उनले कृषि विद्युतिकरण विस्तार र कृषि विल निःशुल्क गर्ने घोषणा पनि गरे । उनले धान, गहुँ र तेलहन बीउका लागि तथा कृषि सडक निर्माणका लागि पनि बजेट विनियोजन गरेको बताए ।
उनले एक पालिका एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने र पशुमा खोरेत रोगको प्रकोप देखिने गरेकाले खोरेत रोगमुक्त प्रदेशका लागि आवश्यक बजेट विनियोजन गरेको बतए ।
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४३ अर्ब ९९ करोड २१ लाख ७० हजारको बजेट ल्याएको छ ।
अर्थमन्त्री साहले कुल बजेटमा पुँजीगततर्फ २७ अर्ब ९९ करोड १४ लाख ६९ हजार अर्थात् ६३.५५ प्रतिशत विनियोजन गरेको बताए ।
उनका अनुसार चालुतर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात् ३६.४५ प्रतिशत रहेको छ । गत वर्षभन्दा अगामी आवको बजेट ०.५० प्रतिशत कम हो ।
गत आर्थिक वर्षमा सरकारले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको थियो ।