‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु

काठमाडौंको भृकुटीमण्डपमा आज बुधबारदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ ।
नेपाल अटो मोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा शुरु भएको नाइमा एक्स्पोको पहिलो दिनको सुरुवाती चरणमै नयाँ गाडी लञ्चको होडबाजी चल्यो । अधिकांश स्टलहरूमा नयाँ गाडीहरूको लञ्च गरियो ।
नाइमा एक्स्पो नयाँ तथा अत्याधुनिक सवारीसाधनको प्रदर्शनीसँगै विभिन्न कम्पनीबिच अफर र छुटको प्रतिस्पर्धाको केन्द्र बनेको छ । प्रदर्शनीमा सहभागी अटो मोबाइल कम्पनीहरूले आ–आफ्ना मोडेलमा आकर्षक छुट, सस्तो ब्याजदरमा फाइनान्स, एक्सचेन्ज अफर र विभिन्न गिफ्ट योजना प्रस्तुत गरेका छन् ।
एक्स्पोमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी छन् । प्रदर्शनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडीहरू सार्वजनिक गरिएको छ । जहाँ कम्पनीहरूबिच ‘सस्तो मूल्यमा उत्कृष्ट सुविधा’ को होडबाजी चलेको देखिन्छ ।
नाइमा एक्स्पोको स्टल नं. ४ मा रहेको हुन्डाई गाडीमा नगद छुटदेखि विदेश भ्रमणसम्मको अफर छन् । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा लक्षित विशेष अफर ‘हुन्डाई असम अगस्ट’ योजना ल्याएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका रिटेल हेड दिवाकर रेग्मीका अनुसार नाइमा एक्स्पोको पहिलो दिनदेखि शुरु भएको यस योजना अन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन् । यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ ।
यस योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ । विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ । नाइमा मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन् । नाइमा एक्स्पोमा गाडी बुक गर्ने ग्राहकहरूलाई दैनिक विशेष उपहारहरूको लागि छनौट हुने व्यवस्था गरिएको छ । दैनिक उपहारहरूमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ ।
‘नाइमा एक्स्पोमा हामीले मस्ट पपुलर गाडीहरू राखेका छौँ । यस एक्स्पोमा हुन्डाईका गाडी किन्दा हामीले नगद छुटदेखि विदेश भ्रमणसम्मको अफर ल्याएका छौँ’, रेग्मीले भने ।