‘नयाँ सरकार बनेपछि नेप्से २७ महिनायताकै उच्च भएको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारले नै सरकारप्रति जनताको विश्वास र भरोसा देखाएको बताएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै उनले अर्थतन्त्रको ऐना मानिने सेयर बजार हरियो बनेको बताए । उनले सेयर बजार २७ महिना यताकै उच्च बिन्दुमा पुगेको जानकारी दिए ।
‘५० लाखभन्दा बढी लगानीकर्ता संलग्न सेयर बजार दुई सातामा ४०० अंकभन्दा धेरैले बढेको छ । नेप्से २७ महिनायताकै उच्च भएको छ, हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास हो यो,’ उनले भने ।
प्रधानमन्त्री ओलीले अब सेयर बजार मात्र नभएर देशको समग्र बजार चलायमान बन्ने बताए । उनले सिंगो देशलाई चलायमान बनाउने आत्मविश्वास नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारसँग रहेको दाबी गरे ।
उनले भने, ‘हाम्रो सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण सेयर बजार हो । अब सेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुन्छ ।’