हिमाल आरोहणमा नयाँ शुल्क कार्यान्वयन

हिमाल आरोहणमा नयाँ शुल्क कार्यान्वयनमा आएको छ । सरकारले २०८१ माघमा जारी गरेको पर्वतारोहण नियमावली अनुसार सेप्टेम्बर महिनादेखि नयाँ शुल्क कार्यान्वयन गरिएको हो ।

अब सगरमाथा चढ्न विदेशीले १५ हजार डलरसम्म तथा नेपालीले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्नु पर्नेछ । यो शुल्क सिजन तथा धार अनुसार निर्धारण गरिएको छ । सबैभन्दा सजिलो मानिने दक्षिण पूर्वी धारबाट सबैभन्दा उपयुक्त मानिने वसन्त ऋतुमा सगरमाथा आरोहण गर्दा सो शुल्क निर्धारण गरिएको हो ।

सोही धारबाट शरद ऋतुमा ७ हजार ५०० डलर तथा अन्य सिजनमा ३ हजार ७५० डलर तोकिएको छ । नेपालीका हकमा शरद ऋतुमा ७५ हजार र अन्य ऋतुमा ३७५०० शुल्क तोकिएको छ ।

अन्य धारबाट हिमाल चढ्दा भने वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुमा ५ हजार डलर र अन्य सिजनमा २५ सय डलर तोकिएको छ । नेपालीका लागि यो धारबाट ऋतु अनुसार क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

सगरमाथाको आरोहण शुल्क यसअघि ऋतु अनुसार क्रमशः ११ हजार, ५५ सय र २७५० डलर थियो । नेपालीका लागि ७५ हजार, ३७ हजार ५०० र १७ हजार २५० रुपैयाँ तोकिएको थियो ।

सगरमाथाबाहेक मनासलु र आमादब्लम हिमाललाई छुट्टै शुल्क निर्धारण गरिएको छ । बाँकी हिमाललाई भने उचाइ अनुसार शुल्क तोकिएको छ । यसमध्ये ८ हजार मिटरभन्दा अग्ला हिमाल चढ्न वसन्त, शरद र अन्य ऋतुमा क्रमशः ३ हजार, १५ सय र ७५० डलर लाग्नेछ । नेपालीका लागि ५० हजार, २५ हजार र १२ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै, ७५०१ देखि ८ हजार मिटर उचाइका हिमाल चढ्न क्रमशः एक हजार, ५ सय र २५० डलर तथा नेपालीका लागि ४० हजार, २० हजार र १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

८ हजार मिटरभन्दा माथिका हिमालका लागि पर्वतारोही दलका प्रत्येक दुई जना सदस्यको साथमा कम्तीमा एक जना उचाइमा जाने कामदार वा पर्वतीय पथ प्रदर्शक (गाइड) अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । अन्य हिमालका लागि भने कम्तीमा एक जना पर्वतीय गाइड लिई जानु पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

हिमाल आरोहणमा नयाँ शुल्क कार्यान्वयन