शेयर कारोबारबाट दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व संकलन : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर कारोबारबाट चालू आर्थिक वर्षको दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व संकलन भएको दाबी गरेका छन् ।
बुधवार नेप्से कार्यालय पुगेका पौडेलले गत आर्थिक वर्षभर शेयर कारोबारबाट ५ अर्बको हाराहारीमा राजश्व संकलन भएको तर यस वर्षको दुई महिनामै करिब पौने सात अर्ब बराबरको राजश्व संकलन गर्न सरकार सफल भएको दाबी गरेका हुन् । उनले चालू आर्थिक वर्ष ०८१/८२ मा शेयर बजारबाट साउनमा ४ अर्ब २३ करोड र भदौ महिनामा दुई अर्ब ५७ करोड राजश्व संकलन भएको बताए ।
उनले नेपालको पूँजी बजार र पुँजी बजारको सम्भावना, यसले भोगिरहेका समस्या, समाधानका उपायका विषयमा संस्थागत संरचनाहरु भित्र पनि, सम्बन्धित संस्थाहरुभित्र पनि र सार्वजनिक रुपमा पनि काफी छलफल, बहस हुने गरेको बताए । राजनीतिक रुपले अहिले पूँजी बजार नघटेको भन्दै पुँजी बजार बढाउन आवश्यक कदमहरु चाल्न सरकार तयार रहेको बताए ।
‘पोल्टिकल सिनारियाेले पनि बजार प्रभावित हुन्छ भन्नुभयो । हप्ता, दश दिनका घटनाहरु हेर्दा त त्यस्तो कुनै राजनीतिक घटनाक्रम भएको छैन । नयाँ पोल्टिकल इभेण्ट्स देखिएको छैन तर पुँजी बजारको प्रवृत्तिमा भने केही प्रश्न छ’, उनले भने ।
सरकारले पूँजी बजारको दिगो र भरपर्दो विकासका पक्षमा काम गरिरहेको उनले बताए ।