धरहराको टिकट साेमबारसम्मका लागि बुक

सर्वसाधारणका लागि खुला गरिएको धरहराको टिकट साेमबारसम्मका लागि बुक भइसकेको छ ।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्न साेमबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिए ।
सरकारले संविधान दिवसका अवसरमा बिहीबारदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । एकाइका प्रमुख अधिकारीले धरहरा नौ वर्षपछि खुला हुँदा पहिलो दिनमै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताए ।
उनका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन ६ सय जनाका लागि निःशुल्क रूपमा धरहरा चढ्ने व्यवस्था गरिएको छ ।
धरहरा चढ्नका लागि बुकिङ गर्न dharahara.gov.np वेबसाइट सञ्चालन गरिएको छ ।