लिफ्ट बिग्रिएपछि धरहरा बन्द

सञ्चालनमा ल्याएको दुइ महिना नबित्दै धरहरा बन्द भएको छ ।
लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागका उपमहा निर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिए ।
‘लिफ्ट बिग्रिएर केहि दिनअघिदेखि बन्द गरेको हो, बनेपछि सञ्चालनमा आइहाल्छ,’ उनले भने ।
२०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पुरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो ।
तत्काल परीक्षणका लागि खुला गरिएको यस धरहरा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरेको थियो । जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरिएको थियो । बुधवार र सार्वजनिक बिदाको दिनबाहेक धरहरा खुला गरिएको थियो ।
हालसम्म २५ हजार ७४२ जना धरहरा चढेको तथ्याङ्कमा उल्लेख छ ।