निर्माण याममै व्यवसायीले बढाए सिमेन्ट र रडकाे मूल्य

हिउँद याम सरकारले पूँजीगत खर्च गर्ने र आम सर्वसाधारणले समेत आफ्नो निजी संरचना बनाउन थाल्ने समय हाे । निर्माणको यसै याममा निर्माण सामग्री उत्पादकले भने भाउ बढाएका छन् ।
नेपाल निर्माण सामग्री व्यापार संघका वरिष्ठ उपाध्यक्ष कृष्णराम न्यौपानेका अनुसार अहिले सिमेन्टमा औसत डेढ सय रुपैयाँ प्रतिबोरासम्म भाउ बढेको छ । रडमा प्रतिकिलो १५ रुपैयाँसम्म बढेको छ ।
‘दुई साता अगाडि ९६/९७ रुपैयाँमा बिक्री भइरहेको रडको भाउ अहिले प्रतिकिलो ११० रुपैयाँ पुगिसकेको छ,’ उनले भने । इँटा र गिट्टी–बालुवामा भने मूल्य स्थिर रहेको उनले बताए । अहिले काठमाडौंमा ए ग्रेडको इँटा १६/१७ रुपैयाँ प्रतिगोटासम्म उपलब्ध छ ।
गिट्टी–बालुवा प्रतिटिपर २६/२७ हजार रुपैयाँसम्म रहेको छ । यसको मूल्य स्थिर रहे पनि सिमेन्ट र रडको मूल्य बढ्दा उपभोक्ता बढी मारमा परेको उनको भनाइ छ । उत्पादकले कुनै ठोस कारण विना बढाएको मूल्य फिर्ता लिन नेपाल निर्माण व्यवसायी महासंघले आग्रह गरेको छ । बढेको मूल्य फिर्ता नलिए निर्माण काम नै ठप्प पार्नेसम्मको चेतावनी महासंघको छ ।
महासंघका महासचिव रोशन दाहालका अनुसार निर्माणको काम हुने सिजनमै सीमित सिमेन्ट उद्योगीले मूल्यवृद्धिसँगै उत्पादन समेत कटौती गरेका छन् । महासंघले मूल्यवृद्धि खारेज नगरे देशभरि निर्माण काम नै ठप्प पार्ने चेतावनी यसअघि दिइसकेको छ ।