लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलागाैं : शाक्य

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । मंगलबार पदभार ग्रहण गर्दै उनले लोडसेडिङ नहुने कुरा एक हप्ताभित्रमै रिजल्ट देखाउने दाबी गरेका हुन् ।
पदभार ग्रहण पश्चात् पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘२०७७ सालमा पनि लोडसेडिङ हुन्छ भनियो । त्यसबेला मैले डाटा लगेरै स्पष्ट पार्नु परेको थियो । र, आजका दिनमा पनि त्यो अवस्था कायमै छ । लोडसेडिङ हुन्छ भन्ने हल्ला मात्रै हो । मैले एक हप्ताभित्रमै लोडसेडिङ हुँदैन भनेर रिजल्ट देखाउँछु । उद्योगमा मात्रै लोडसेडिङ भइरहेको छ । यो पनि म कम गर्छु ।’
सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई बर्खास्त गरेर मंगलबार शाक्यलाई नियुक्ति गरिएको थियो । विवादमै नियुक्ति भए पनि उनले यसलाई चुनौती भन्दा पनि अवसरका रुपमा लिएका बताएका छन् ।