नेपालमा दर्ता हुन तयार भएन मेटा

काठमाडौं । फेसबुकलगायत सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा दर्ता हुन सरकारले दिएको एक महिनाको म्याद सकिएको छ । तर, यो अवधिमा एउटा पनि सामाजिक सञ्जाल दर्ता हुन आएनन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत ७ गते एक सूचना प्रकाशित गरी सबै सामाजिक सञ्जाललाई दर्ता हुन आह्वान गरेको थियो । सूचनामा अबको ३० दिनभित्र कानूनबमोजिम मन्त्रालयमा सूचीकण गर्न तथा नेपालभित्र सम्पर्क विन्दू, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमनको परिपालन निगरानी गर्ने अधिकारीको व्यवस्था गर्न भनिएको छ ।

तोकिएको समयभित्र सुचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० को दफा ३ को उपदफा (७) बमोजिम मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने चेतावनी सूचनामा दिइएको छ ।

यही सूचनाबमोजिम सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले तोकिएको समयभित्र दर्ता हुन नआउने सामाजिक सञ्जालमा रोक लगाइने भनेर पटक–पटक चेतावनी दिइरहेका छन् । आज एक कार्यक्रममा पनि उनले चेतावनी दोहोर्याए ।

सञ्चारिका समूहको ९ औं महाधिवेशनमा सम्वोधन गर्दै सञ्चारमन्त्री गुरुङले म्याद सकिन लाग्दा पनि सामाजिक सञ्जालहरु दर्ता हुन नआएको गुनासो गरेका थिए । मेटाले नेपाललाई हेपेको भन्दै आक्रोशसमेत उनले पोखे ।

‘पहिले पनि तीन महिनाको सूचना गरेको हो दर्ता गर्न आउ भनेर । फेरि एक महिनाको सूचना निकालियो । त्यो पनि दुई–तीन दिन बाँकी छ, तर कोही आउँदैन । मेटा, जसले फेसबुक चलाउँछ, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम चलाउँछ, अहिलेसम्म दर्ता गर्न किन आउँदैन ? सरकारलाई नै टेर्दैन उसले । नेपाललाई नै टेर्दैन । तेरो टोटल जिडीपीभन्दा हाम्रो जीडीपी बढी, तेरो वार्षिक बजेटभन्दा हाम्रो धेरै गुना बढी भन्ने उसको घमन्ड छ । अहंकार छ । तेरो मुलुकमा अर्ब हो आम्दानी, हाम्रो कति विलियन, ट्रिलियन छ, तँलाई किन मान्नुपर्ने भन्छ ? तेरो विधेयकमा हाम्रो असहमति छ रे, नेपालमा कस्तो विधेयक बनाउने, कस्तो कानून बनाउने भनेर मेटाले भन्ने हो कि हामीले भन्ने हो ? त्यो घमन्ड गरेर बस्यो भने त्यसमाथि प्रतिबन्ध लाग्छ, मैले भनिसकेँ । होइन, हामी चलाउँछौं भन्ने हो भने आउनुपर्यो ।’

सञ्चारमन्त्रीले यसरी भाषण गरिरहँदा सञ्चार मन्त्रालयले दिएको म्याद भने गणितीय हिसाबले समाप्त भइसकेको छ । चैत महिना ३१ दिनको थियो, जसअनुसार सूचना प्रकाशित भएको आज (शुक्रबार) ३० दिन पूरा भएको हो । यद्यपि, भोलि शनिबार भएकाले पर्सी अर्को निर्णय लिन सकिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

मन्त्री गुरुङले सार्वजनिक कार्यक्रममा कडा चेतावनी दिइरहेका भए पनि पर्सीबाटै सामाजिक सञ्जाल बन्द गर्ने विषयमा मन्त्रालयले कुनै तयारी गरेको छैन । मन्त्रालयका उच्च अधिकारीहरु ‘राजनीतिक निर्णय’ को प्रतीक्षामा छन् ।

एक अधिकारीले भने, ‘हामीलाई अहिलेसम्म केही पनि निर्देशन आएको छैन । सञ्चारमन्त्रीज्यूले बोल्नुभएको सुनेका छौं । सायद केही सोचेरै बोल्नुभएको होला । त्यो पर्सि नै थाहा हुन्छ ।’

मन्त्रालयकै अर्का अधिकारीले भने सञ्चारमन्त्रीको भाषणलाई ‘घुर्की’ को संज्ञा दिए ।

उनी भन्छन्, ‘मन्त्रीले कानूनमा भएको व्यवस्था पालना गर्छु भन्नु अन्यथा होइन । उहाँले सामाजिक सञ्जाल प्लेटफर्महरुलाई तर्साउन वा घुर्क्याउन भन्नुभएको होला । बन्द गरिन्छ जस्तो चाहिँ मलाई लाग्दैन । त्यस किसिमको कुनै पनि तयारी र छलफल भएको छैन । पर्सि फेरि म्याद थपिनसक्ने सम्भावना देख्छु ।’

आजसम्म कुनै सामाजिक सञ्जालले दर्ता हुन सकारात्मक संकेतसम्म गरेका छैनन् । यस सूचना अगाडि नै दर्ता भएका टिकटक, भाइबर र विटोक (नेपाली) बाहेक कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्मले रुची नै नदेखाएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ । यतिसम्म कि सरकारले नै बारम्बार पत्राचार गर्दासमेत कुनै रेस्पोन्स उनीहरुबाट भएको छैन ।

मेटालाई सञ्चार मन्त्रालयले दुईपटक पत्र पठाइसकेको छ । तर दुवै पत्रको जवाफ आएको छैन । म्याद सकिन लागेपछि मन्त्रालयकै ताकेतामा हिजो बल्लतल्ल एउटा भर्चुअल मिटिङ बस्यो । तर, त्यो पनि फलदायी हुन नसकेको मन्त्रालयका एक अधिकारीले बताए ।

भर्चुअल मिटिङमा फेसबुकको नीतिगत तहमा काम गर्ने पाँचजना प्रतिनिधि सामेल थिए भने सञ्चार मन्त्रालयबाट सचिव राधिका अर्यालसहितको टोली थियो । मिटिङमा फेसबुकको टिमले दर्ता हुन घुमाउरो तरिकाले इन्कार गरेको मन्त्रालय स्रोत बताउँछ ।

उनीहरुको भनाइ उद्वृत गर्दै स्रोतले भन्यो, ‘हामी नेपालको कानून अनुसार होइन, ‘ग्लोबल ल’ अनुसार चल्ने हो । सबै देशमा दर्ता गर्न सम्भव हुँदैन । नेपालको जनसंख्या थोरै छ र हाम्रो विजनेस पनि यहाँ उल्लेख्य छैन ।’

नेपाली प्रतिनिधिमण्डलले भने नेपालले सामाजिक सञ्जाललाई अंकुश लगाउन नभएर नियमनको दायरामा ल्याउन मात्र खोजेको बताए । नेपालमा फेसबुकको ठूलो लोकप्रियता भएको सम्झाउँदै उनीहरुले नेपालको कानून परिपालन गर्न आग्रह गरे ।

नेपाली पक्षको जोडपछि फेसबुक टोलीले आफूहरुले बोर्डमा प्रस्ताव लैजाने आश्वासन दिएका छन् । तर, यसमा नेपाली अधिकारीहरु आश्वस्त छैनन् ।

मिटिङमा बसेका एक अधिकारीले भने, ‘उनीहरुले टार्ने हिसाबले बोर्डमा छलफल गर्छौं भनेका हुन् । दर्ता हुन पटक्कै सकारात्मक देखिएनन् ।’

सामाजिक सञ्जालमा विकृति र अराजकता बढेको जनगुनासोपछि सञ्चार मन्त्रालयले यसलाई नियमन गर्न २०८० सालमा ‘सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका’ जारी गरेको थियो । तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले यो निर्देशिका मन्त्रीपरिषदमा लगेर पारित गराएकी थिइन् । यही निर्देशिकाले पहिलोपटक सामाजिक सञ्जाल प्लेटफर्म र प्रयोगकर्तालाई नियमनको दायरामा तानेको हो । तर, निर्देशिका व्यवहारमा लागू हुन भने सकेको छैन ।

निर्देशिकाले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालनका लागि गरेका मुख्य व्यवस्था यसप्रकार छन्ः

नेपालमा १ करोड ४३ लाखभन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ता छन्, जुन कूल जनसंख्याको ४८.१ प्रतिशतभन्दा बढी हो । संसारमा सामाजिक सञ्जालमा सबैभन्दा बेसी समय बिताउनेहरुमा नेपालीहरु पर्छन् भन्ने विश्वास गरिन्छ ।

नेपालीले सबैभन्दा बढी चलाउने सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक हो, जसका सवा करोड हाराहारी प्रयोगकर्ता छन् । फेसबुकले मात्रै नेपालबाट वार्षिक अरबौंको विजनेस गर्दै आएको छ ।

तर, अहिलेसम्म नेपालमा फेसबुकको एउटा कार्यालयधरी छैन । मेटा कम्पनीका विज्ञापन एजेन्सीहरु मात्रै सक्रिय छन् । नेपालबाट अरबौंको रेभिन्यू गरिरहेको फेसबुकले अहिलेसम्म न ‘मोनिटाइजेसन’ सुविधा दिएको छ न एक रुपैयाँ ट्याक्स तिर्छ ।

फेसबुकको माउ कम्पनी ‘मेटा’ ले विश्वका विभिन्न राष्ट्रमा ६२ वटा शाखा कार्यालय स्थापना गरेको छ । जम्माजम्मी ४५ लाख ५० हजारमात्रै फेसबुक प्रयोगकर्ता भएको इजरायलमा समेत फेसबुकले कार्यालय खोलेको छ । नेपालको तुलनामा न्यून प्रयोगकर्ता भएको इजरायलले नीतिगत व्यवस्थामा कडाइ गर्दा त्यहाँ मेटा कार्यालय राख्न फेसबुक बाध्य भएको हो ।

त्यस्तै, ६० लाख ५० हजार फेसबुक प्रयोगकर्ता भएको यूएईमा पनि सरकारको बलियो नीतिगत व्यवस्थाका कारण मेटा कम्पनीले कार्यालय स्थापना गरेको छ । नेपालकै छिमेकी भारतमा मात्रै हैदरावाद, मुम्बई र बैंगलोर गरी तीन ठाउँमा मेटा कार्यालय रहेका छन् । नेपाललाई भने फेसबुकले कुनै महत्व नै दिएको छैन, जबकि फेसबुक नेपालीहरुको जनजीवनकै एउटा अंगजस्तो बनिसकेको छ ।

मेटाको कार्यालय भएका राष्ट्रमा फेसबुक प्रयोगकर्ताले धेरै सुविधा पाउँछन् । जस्तैः मनिटाइजेसन, एकाउन्टमा आएका समस्या तत्काल समाधान, गलत गतिविधिमा तत्काल रोक, अनलाइनमार्फत हुने चोरी तथा ह्याकिङ समस्या समाधन, इमेलको सुनवाइ र जवाफ, फेसबुक पेजमा आउने समस्या तत्काल समाधान आदि । नेपाली प्रयोगकर्ताहरु भने यी सबै सुविधाबाट वञ्चित छन् ।नेपालप्रेसबाट

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

नेपालमा दर्ता हुन तयार भएन मेटा