तराई मधेसमा खडेरीकाे समस्या समाधान गर्न माग गर्दै प्रदर्शन

तराईमा व्याप्त रहेको खडेरीकाबिच नेपाल सरकारले केही ठोस कदम नचालेको भन्दै मधेस कृषि–जल आन्दोलन सङ्घर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको छ ।
‘तराई–मधेसको अस्तित्व र अस्मिताका लागि सङ्घर्ष’ भन्ने नारा सहित समितिले साङ्केतिक रूपमा धानको गाँज, हलो, उखु लगायतका सामाग्री बोकेर प्रदर्शन गरेको हो । समितिले विज्ञप्तिमार्फत ७ बुँदे विभिन्न माग समेत प्रस्तुत गरेको छ ।
‘नेपाल सरकारले लामो समयदेखि तराई मधेसप्रति उपेक्षा, शोषण र बेवास्ताको नीति अपनाउँदै आएको यथार्थ आज फेरि पनि देखिएको छ । चुरे विनाश, अवैज्ञानिक उत्खनन, बन अतिक्रमण, सिँचाइको अभाव र वातावरणीय असन्तुलनले गर्दा आज तराई मधेस मरुभूमितिर अघि बढ्दैछ । भूमिगत पानीको सतह घटेको छ, कृषियोग्य जमिन बाँझिएको छ, जनता प्यासले तड्पिरहेका छन् र सरकार मौन छ । यो अवस्था स्वीकार्य छैन । मधेस अब चुप छैन’ समितिले जारी गरेको अपिलमा उल्लेख छ ।