अटाे लाेनमा बैंक तथा वित्तीय संस्थाहरूकाे हाेडबाजी

अधिक तरलताको अवस्थाबाट गुज्रिरहेका बैंक तथा वित्तीय संस्थाहरू तुलनात्मक रूपमा सुरक्षित मानिने अटो क्षेत्रमा ऋण प्रवाह बढाएका छन् । त्यही भएर अटो शोमा विभिन्न बैंकहरूले स्टल नै राखेर लोन–स्कीमको प्रचार गरिरहेका छन् ।
भृकुटीमण्डपमा चलिरहेका नाडा अटो शो २०२५ मा ८ वटा बैंकले स्टल राखेका छन् । त्यसरी स्टल राख्ने बैंकहरूमा कृषि विकास बैंक, नबिल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र नेपाल एसबीआई बैंक रहेका छन् ।
स्टल नरहेका बैंकले पनि अटो लोनका प्रोडक्टलाई विशेष प्राथमिकता दिइरहेको देखिन्छ ।
अहिले बैंक तथा वित्तीय संस्थाले दुई प्रकारले कर्जा प्रवाह गर्दै आएका छन् । पहिलो, गतिशील ब्याजदर र दोस्रो, स्थिर ब्याजदर । गतिशील प्रणाली अनुसार बैंकको आधार ब्याजदरमा प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरिन्छ । विगत तीन महिनाको आधार दरको औसतका आधारमा यस्तो दर निर्धारण हुन्छ । बैंकको आधार दर घटबढ हुँदा ब्याजदर समेत त्यही अनुसार घटबढ हुने भएकोले यस्तो प्रणालीमा जोखिम ग्राहकलाई नै हुन्छ, त्यसैले यसको ब्याज तुलनात्मक रूपमा सस्तो हुन्छ ।
स्थिर ब्याजदर भने तुलनात्मक रूपमा महँगो हुन्छ । तर, यस्तो ब्याजदरमा किस्ता अवधिभरि ब्याजदर घटबढको समस्या नहुने भएकोले ग्राहकको मासिक किस्ता (ईएमआई) योजना बनाउन सजिलो हुन्छ । कतिपय अवस्थामा सस्तो ब्याजदरको प्रलोभनमा ऋण लिएका समेत पछि ब्याजदर महँगिँदै जाँदा ऋण तिर्न नसक्ने अवस्था सिर्जना हुने गरेको थियो । स्थिर ब्याजदरले यस्तो समस्या भने समाधान गर्छ ।
यी दुई प्रणाली अनुसार बैंकले छुट्टाछुट्टै ब्याजदर निर्धारण गरेका छन् । बैंकले भदौ महिनाको लागि सार्वजनिक ब्याजदर तालिका अनुसार गतिशील ब्याजदरमा अटो लोन दिन चाहनेले हाल न्यूनतम ६.२३ प्रतिशतसम्म तथा स्थिर ब्याजदर तालिका अनुसार ७.४९ प्रतिशतसम्ममा ऋण दिन सक्ने अवस्था देखिएको । अधिकतम भने गतिशील ब्याजदर अनुसार ११.६७ प्रतिशत र स्थिर ब्याजदर अनुसार १३.५० प्रतिशतसम्म तिर्नुपर्ने अवस्था रहेको देखिन्छ ।