बक्यौता नतिर्ने उद्योगलाई पहिलो प्राथमिकतामा राखेर बिजुली काट्दै प्राधिकरण

विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने उद्योगलाई पहिलो प्राथमिकतामा राखेर लोड व्यवस्थापनका लागि विद्युत् कटौती गर्ने तयारी गरेको छ ।
चैत २ गते शनिबारदेखि औद्योगिक क्षेत्रमा विद्युत् व्यवस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । भारतबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै बिजुली आयात हुन थालेपछि विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई समस्या भएको हो । जसका कारण औद्योगिक क्षेत्रमा दैनिक कम्तीमा १२ घण्टा लोडसेडिङ सुरु भएको गुनासो आउन थालेका छन् ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले गत १९ नोभेम्बरमा नेपाललाई विद्युत् निर्यात अनुमति दिँदा नै १५ मार्चदेखि ‘सन आवर’ (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै बिजुली दिने गरी अनुमति दिएको थियो ।
उक्त अनुमतिअनुसार भारतबाट शनिबारदेखि बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै बिजुली आयात भइरहेको छ । गत शुक्रबारसम्म पिकआवरको चार घण्टाबाहेक दैनिक २० घण्टासम्म विद्युत् आयात भइरहेको थियो ।
भारतबाट गत शनिबारदेखि १२ घण्टा मात्रै बिजुली आयात भए पनि घरायसी ग्राहकलाई भने लोडसेडिङ हुन नदिने प्राधिकरणले जनाएको छ । भारतबाट २० घण्टासम्म विद्युत् आयात हुँदा पनि उद्योगहरूमा ८ घण्टासम्म अघोषित लोडसेडिङ रहेको व्यवसायीले गुनासो गर्दै आएका थिए ।
यता प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट १२ घण्टा मात्रै बिजुली आयात भए पनि लोडसेडिङ नहुने दाबी गरेका छन् । उनले प्राधिकरणले लोडसेडिङ हुन नदिन आवश्यक सबै प्रक्रिया अपनाइरहेको बताए ।
प्रवक्ता घोषले भारतबाट दिउँसो मात्रै विद्युत् आयात हुँदा पनि आपूर्तिमा खासै अप्ठ्यारो नपरेको बताए । उनले दिउँसो १४ सय मेगावाट विद्युत् माग हुने र यति नै विद्युत् क्षमता कायम गरेकाले समस्या नभएकाे तर्क गरे । ‘विद्युत् उत्पादन पनि थपिरहेको छ । नदीहरूमा पानीको बहाव पनि बढेको छ । अहिले जलाशययुक्त आयोजनाको विद्युत् पनि प्रयोग गरेका छौँ,’ उनले भने ।
प्राधिकरणले भारतबाट १२ घण्टा मात्रै विद्युत् आयात भएपछि देशभर लोडसेडिङ हुन नदिन जलाशययुक्त आयोजनाको विद्युत् प्रयोगमा ल्याएको छ । भारतबाट बिजुली आयात हुँदा प्रयोग नगरिएको जलाशय आयोजनाहरू प्रयोगमा ल्याएर लोड व्यवस्थापन गरिएको प्रवक्ता चन्दन घोषले बताए । उनले भारतबाट आयात नभएको समयमा अर्धजलाशयको विद्युत् प्रयोग गरिएको बताए ।
प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता नतिर्ने उद्योगमा अन्य उद्योगको तुलनामा बढी लोडसेडिङ हुने घोषले बताए । अदालतको फैसलासमेत नमान्ने उद्योगलाई प्राधिकरणले प्राथमिकतामा राखेर महँगोमा भारतबाट विद्युत् किनेर सस्तोमा किन दिने ? भन्दै प्रश्न गरे ।
जगदम्बा स्टिल, अशोक स्टिल, हुलास स्टिल, हामा आइरन, एभरेस्ट पेपर उद्योग, युनाइटेड सिमेन्ट, शिवम् सिमेन्ट, हेटौँडा सिमेन्ट, जिबी टेक्स्टाइल, नारायण रबर उद्योग, अर्घाखाँची सिमेन्ट, विशाल सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, एभरेस्ट रोलिङ उद्योगको विद्युत् कटौती हुने देखिएको छ ।
त्यसमा नपुगेको अवस्थामा डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम नतिर्ने उद्योगहरूलाई प्राथमिकतामा राखेर विद्युत् कटौती गर्ने योजना बनाएको छ ।
प्राधिकरणले बनाएको योजनाअनुसार डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बुझाउने बाबा जुट मिल, रघुपति जुट मिल, उदयपुर सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, निगाले सिमेन्ट, अरिहन्त मल्टिफाइबर, मारुती सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन, त्रिवेणी स्पिनिङ रहेका छन् ।
त्यस्तै जगदम्बा स्टिल, अशोक स्टिल, हुलास स्टिल, हामा आइरन, एभरेस्ट पेपर उद्योग, युनाइटेड सिमेन्ट, शिवम् सिमेन्ट, हेटौँडा सिमेन्ट, जिबी टेक्स्टाइल, नारायण रबर उद्योग, अर्घाखाँची सिमेन्ट, विशाल सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, एभरेस्ट रोलिङ उद्योगको विद्युत् कटौती हुने देखिएको छ ।