अर्थतन्त्र जगाउन निजी क्षेत्रले माग्याे सरकारसँग सुरक्षा

अर्थतन्त्र पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षा अपेक्षा रहेको बताए । ‘हामी सम्हालिँदै र सरकारलाई सघाउँदै सहकार्य गर्न तयार छौं,’ अध्यक्ष ढकालले भने ।
उनले आन्दोलन क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्त्व बुझ्न नसकिएको रूपमा हेर्न सकिने बताए । महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययन अनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ ।
अध्यक्ष ढकालले अर्थतन्त्र पुनर्स्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकारबीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वास साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरण सुनिश्चितता कायम गर्न पनि आग्रह गरे ।
महासंघले देशभरिको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध तथ्यांक र सूचना अनुसार करिब ८० अर्ब रुपैयाँ बराबर निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आकलन रहेको ढकालले बताए ।
युवापुस्ताको आन्दोलन क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको हुँदा दोषीमाथि कारबाही हुनुपर्ने निजी क्षेत्रको माग छ । कारबाही हुन नसके दण्डहीनताको अवस्था सिर्जना भई निजी लगानी थप निरुत्साहित हुनेतर्फ निजी क्षेत्रका प्रतिनिधिले उक्त छलफलमा सरकारको ध्यानाकर्षण गराए ।
महासंघले देशभरिको क्षति विवरण संकलन गरिरहेको र हालसम्म उपलब्ध तथ्यांक र सूचना अनुसार करिब ८० अर्ब रुपैयाँ बराबर निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आकलन रहेको ढकालले बताए ।
विशेषगरी ठूलो क्षति भएका उद्योग र साना एवं राजधानी बाहिरका केही व्यवसायको विवरण आउन नसकेको र कतिपय दोहोरोपन पनि देखिएको छ । महासंघले जतिसक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरी देशभरि सर्वेक्षण गरिरहेको छ ।
छलफल क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।
युवापुस्ताले चुस्त सरकारी सेवा चाहिरहेको बताउँँदै अध्यक्ष ढकालले सूचना प्रविधिको उच्चतम प्रयोग र सदाचारयुक्त काम गर्न सबैले पहल गर्नुपर्ने बताए ।