लाइन जाेडेका उद्योगीहरूसँग प्राधिकरणले माग्याे दोस्रो किस्ता

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगीहरूसँग फेरि दोस्रो किस्ता रकम माग गरेको छ ।
प्राधिकरणका वितरण केन्द्रहरूले मंगलबारदेखि सम्बन्धित उद्योगहरूलाई पत्राचार गर्दै दोस्रो किस्ता पनि बुझाउन पत्र पठाएका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको पहिलो किस्ता बुझाएका उद्योगलाई दोस्रो किस्ता पनि समयमा बुझाउन ताकेता सुरु गरिएको बताए ।
उनले भने, ‘बक्यौता विवाद अब समाधान उन्मुख रहेकाले पहिलो किस्ता तिर्ने उद्योगहरूले दोस्रो किस्ता पनि तिर्नेमा हामी आशावादी छौँ । त्यही आधारमा पत्र पठाउन थालेका हौँ ।’
उद्योगीहरुका अनुसार प्राधिकरणले पठाएको पत्रमा पहिलो किस्ता तिरेकोमा धन्यवाद दिँदै समयमै दोस्रो किस्ता बुझाउन भनिएको छ । प्राधिकरणले कुल बक्यौतालाई २८ किस्तामा तिर्ने सुविधा दिएको छ । प्राधिकरणको ताकेतासँगै हुलास स्टील र अशोक स्टीलले दोस्रो किस्ता बापतको रकम बुझाइसकेका छन् ।
अशोक स्टीलले दोस्रो किस्ता बापत ६३ लाख रुपैयाँ बुझाएको छ । यसअघि पनि कम्पनीले सोही बराबरको रकम पहिलो किस्तामा तिरेको थियो । अशोक स्टीलले प्राधिकरणलाई कुल १७ करोड ५८ लाख १४ हजार ४०६ रुपैयाँ तिर्न बाँकी छ ।
त्यस्तै, सिमरा वितरण केन्द्र अन्तर्गतको हुलास स्टील इन्डस्ट्रीज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ दोस्रो किस्ता बुझाएको छ । १४ करोड १२ लाख ५ हजार रुपैयाँ कुल बक्यौता रहेको हुलासले २८ किस्ताको सुविधा लिएको हो ।
गत कार्तिकमा बक्यौता नतिरेको भन्दै प्राधिकरणले २५ उद्योगहरूको लाइन काटेको थियो । प्राधिकरणले लाइन काटेसँगै उद्योगहरूले पहिलो किस्ता बुझाएका थिए ।
उच्च सरकारी तहमा भएको समझदारी अनुसार पहिलो किस्तालाई ‘धरौटी’ मानेर कानुनी उपचार (पुनरावलोकन) मा जाने भनिए पनि प्राधिकरणले त्यसलाई नियमित किस्ताकै रूपमा अघि बढाएको छ । प्राधिकरणले प्रशासकीय पुनरावलोकनको प्रक्रिया नब्युँताई नियमित किस्ता असुलीको प्रक्रिया थालेको छ ।
२०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम महसुल बापत ३५ उद्योगको कुल ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ बक्यौता थियो । लोडसेडिङको समयमा विद्युत् उपभोग गरेका यी उद्योगहरूबाट हालसम्म २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल भइसकेको छ भने अब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ उठ्न बाँकी छ ।