सात महिनामा ८ खर्ब ११ अर्ब रुपैयाँकाे व्यापार घाटा

चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको यही अवधि (साउनदेखि माघ महिनासम्म) को तुलनामा १.७७ प्रतिशत घाटा बढेकाे हो ।
गत आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालले ८ खर्ब २५ अर्बभन्दा बढी व्यापार घाटा बेहोरेको थियो । यो चालू वर्षको तुलनामा १३ अर्बभन्दा धेरै हो । यस्तै, यस अवधिमा नेपालले विदेशबाट ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको आयात गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको आयात भएको थियो । यो चालू वर्षको तुलनामा २१ अर्बभन्दा धेरै आयात हो ।
सात महिनाको अवधिमा निर्यात व्यापारमा ७.०७ प्रतिशतको गिरावट आएको छ । तथ्यांकअनुसार यस अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ । गत वर्षको यही अवधिमा नेपालबाट ९३ अर्ब ४३ करोड रुपैयाँभन्दा धेरैको निर्यात भएको थियो । जुन, चालू वर्षको तुलनामा ६ अर्ब रुपैयाँले बढी हो ।