बलम्बु–सिस्नेखाेला सुरुङ मार्गको ‘ब्रेक थ्रु’

बलम्बु-सिस्नेखोला सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार स्वीच थिचेर २ मिटर क्षेत्रलाई ब्लास्टिङ्ग गरी सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् ।
चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउन २२ मै ब्रेक थ्रू भइसकेको छ । यो सुरुङ्गमार्ग सञ्चालनमा आएपछि नेपालकै पहिलो गाडी गुड्ने सुरुङ्गमार्ग हुने छ ।
आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै एक वर्ष लाग्ने जनाइएको छ । साेमबारबाट सुरुङ निर्माणको काम भने सकिने छ । हालसम्म ७२ प्रतिशत सुरुङ मार्गको काम सम्पन्न भएको छ । २८ प्रतिशत काम बाँकी नै छ । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर छन् ।
बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।