बर्दिबासमा पाँच तारे होटल निर्माण सुरू

महोत्तरीको बर्दिबास पाँच तारे ‘रामिणी’ होटल निर्माण सुरु भएको छ ।
साढे दुई वर्षभित्र निर्माण सक्ने गरी कुल एक बिघा क्षेत्रफलमा बनाउन थालिएकाे होटलमा कुल १ अर्ब १० करोड रुपैयाँ लगानी हुनेछ । जसमा ७/७ तलाका दुई वटा भवन बन्नेछन् । ८२ वटा कोठा हुनेछन् । डिलक्स र स्वीटका साथै दुई वटा प्रेसिडेन्सियल स्वीट रुम हुनेछन् । पाँच तारे होटलमा उपलब्ध हुने सबैखाले (क्यासिनो, स्वीमिङ पुल, वेलनेसलगायत) सुविधा उपलब्ध हुने हाेटलका अध्यक्ष शम्भु घिमिरेले जानकारी दिए ।
उनका अनुसार भगवान रामको जन्मभूमि अयोध्या र सीताको जन्मभूमि जनकपुरलाई पर्यटनमार्फत जोड्ने उद्देश्यले होटल निर्माण सुरु गरिएको हो । होटल निर्माणपछि बर्दिबासको मात्रै नभइ जनकपुर र अयोध्याको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताए ।
होटलकी प्रबन्धक श्रेया पाँडेले नेपाल र भारतका बजारहरुलाई लक्षित गरेर होटल निर्माण सुरु गरेको बताइन् । ‘हाम्रो योजना बर्दिबासमै लक्जरियस होटलको अनुभव उपलब्ध गराउनु हो, त्यसबाहेक २५ किलोमिटरको दूरीमाा रहेको जनकपुर र भारतीय बजारलाई पनि लक्षित गरेका छौं’, उनले भनिन् ।