एलएस अटोको घोषणा : गाडी किन्दा चार देशको भ्रमण उपहार

एलएस अटोले नाडा अटो शो २०२५ मा विद्युतीय गाडी खरिदमा चार देशको भ्रमण प्याकेज नि:शुल्क उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ।
एलएस अटोले विशेष र फरक अफर सार्वजनिक गरेसँगै मेलाको माहोल तातेको छ ।
कम्पनीले आफ्नो ईभी खरिदमा चार देशको भ्रमण प्याकेज नि:शुल्क उपलब्ध गराउने घोषणा गरेपछि एलएस अटोको स्टलमा गाडी अवलोकन गर्ने र जानकारी लिनेको भीड लागेको छ । यो अफरले नाडा अटो शोलाई थप रोमाञ्चक बनाएको छ भने सम्भावित ग्राहकहरूमाझ तीव्र उत्साह जगाएको छ ।
कम्पनीका महाप्रबन्धक नवीन फुयालका अनुसार यो अफर केवल एक बिक्री रणनीति मात्र नभई ग्राहकहरूलाई एक अविस्मरणीय अनुभव प्रदान गर्ने माध्यम पनि हो ।
‘हामीले नेपाली बजारका लागि उत्कृष्ट गाडीमात्र ल्याएका छैनौं, ग्राहकलाई जीवनभर सम्झिरहने उपहार पनि दिन चाहेका हौं,’ फुयालले भने, ‘एउटै गाडीको खरिदमा दुबई, मलेसिया, बाली र थाइल्यान्ड जस्ता आकर्षक गन्तव्यको भ्रमण गर्ने अवसरले ग्राहकहरूलाई निश्चय नै आकर्षित गर्ने छ ।’
यो विशेष अफर नाडा अटो शोको अवधिभरि गाडी बुक गरी सोही स्थानबाट डेलिभरी लिने ग्राहकका लागिमात्र लागू हुने कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीले डेलिभरीको स्थानका आधारमा दुई फरक अफर प्रस्तुत गरेको छ । नाडा अटो शोबाटै गाडी डेलिभरी लिने ग्राहकले चार देशको भ्रमण प्याकेज पाउनेछन् ।
तर, नाडामा बुक गरेर अन्यत्रबाट डेलिभरी लिने ग्राहकका लागि भने कम्पनीले १ लाख ५० हजार नगद छुट, १ लाख रुपैयाँ एक्स्चेन्ज बोनस, लोयल्टी बोनस र पूर्णबीमा जस्ता सुविधाको छुट्टै प्याकेज उपलब्ध गराएको छ ।
एलएस अटोले आफ्नो इलेक्ट्रिक एसयूभी ‘एलईभी ०१’ मोडेलको दुई भिन्न भेरिएन्ट बुकिङ सुरु गरेको छ । यसको स्ट्यान्डर्ड इडिसन (एसई) को मूल्य ५९ लाख ९५ हजार रुपैयाँ छ भने कम्फर्ट इडिसन (सीई) को मूल्य ६४ लाख ९५ हजार तोकिएको छ ।
यी गाडी विशेषगरी नेपाली सडक र यहाँको भूगोललाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार २१० एमएमको उच्च ग्राउन्ड क्लियरेन्सले खाल्डाखुल्डी र अप्ठ्यारो बाटोमा पनि गाडीलाई सहजता प्रदान गर्छ भने एक पटकको फुल चार्जमा ५ सय किलोमिटरसम्मको लामो रेन्जले यात्रालाई चिन्तामुक्त बनाउँछ ।
गाडीमा ३६०–डिग्री क्यामरा, वायरलेस चार्जर, स्मार्ट टेलगेट जस्ता आधुनिक सुविधाका साथै १० वटा एयरब्याग जस्ता उच्चस्तरीय सुरक्षा प्रणाली जडान गरिएको छ ।
फुयालका अनुसार एलएस अटो विश्वकै प्रतिष्ठित डिजाइन हाउस ‘सांगा लन्च अटो टेक्नोलोजी’ को भगिनी संस्था भएकाले यसको डिजाइन र प्रविधिमा कुनै सम्झौता गरिएको छैन ।
नाडा अटो शो सुरु भएको तेस्रो दिनसम्ममा कम्पनीले ११ वटा गाडी बुक गरिसकेको छ र शोको अन्त्यसम्ममा १ सयभन्दा बढी गाडी बिक्री हुनेमा विश्वस्त छ ।
निकट भविष्यमै ५ सय ५० किलोमिटर रेन्ज दिने फोर–ह्विल ड्राइभ र ४० लाखभन्दा कम मूल्यमा ४ सय किलोमिटर रेन्ज दिने ह्याचब्याक गाडी ल्याउने योजनाले बजारमा थप उत्साह थपेको छ ।