अत्यावश्यक सेवामा हडतालपछि मन्त्रालयले बाेलायाे वार्तामा

पेट्रोलियम पदार्थको ढुवानी रोकिएर उपत्यकामा अभाव सिर्जना भएपछि सरकारले आन्दाेलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेकाे छ । सरकारले पेट्राेलियम पदार्थकाे आपूर्तिलाई अत्यावश्यक सेवाभित्र राखेकाे छ । अत्यावश्यक सेवामा हडताल गर्न बर्जित छ ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालक आन्दोलित भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आन्दाेलनरत पक्षका नेताहरुलाई छलफलका लागि बोलाएको हाे । संघले ७ बुँदे माग राख्दै आन्दाेलनका कार्यक्रम गरिरहेकाे छ ।
आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलित हुनुपरेको संघले जनाएको छ ।
पेट्रोलियम ट्यांकर चालक संघको आव्हानमा विभिन्न मागसहित मजदुरहरू आन्दोलनमा उत्रिएपछि पेट्रोल राजधानी भित्रिन पाएको छैन । ट्यांकर चालक / सहचालकहरुले नियुक्ति पत्र दिई तोकिएअनुसारको तलबको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धता गरिनुपर्ने, जोखिम भत्ता दिइनुपर्नेलगायतका माग राखेका छन् ।