धावनमार्गको बत्ती बिग्रिएपछि त्रिभुवन विमानस्थल बन्द, उडान धमाधम डाइभर्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द भएको छ।
विमानस्थलको ‘एयरफिल्ड लाइटिङ सिस्टम’मा प्राविधिक समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान र अवतरण बन्द गरिएको हाे ।
‘एयरफिल्डको लाइटिङ रात्रिकालीन उडान, अवतरणका लागि अत्यावश्यक हुन्छ। त्यसमा समस्या आएको थियो। नबनिसकेकाले उडान र अवतरण भएको छैन,’ विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले भने ।
उनका अनुसार विमानस्थलमा साँझ साढे ५ बजेदेखि उडान अवतरण रोकिएको छ। त्यसयता प्राविधिक टोलीले समस्या समाधानको प्रयास गरिरहेको छ ।
‘प्राविधिक टोली निरन्तर रूपमा काम गरिराख्नुभएको छ। सेवा सुरू हुन कति समय लाग्छ भन्ने यकिन छैन। समस्या समाधान भएपछि उडान/अवतरण सुरू हुन्छ,’ उनले भने।
विमानस्थलमा उडान अवतरण रोकिएपछि त्रिभुवन विमानस्थलमा अवतरण हुन लागेका आन्तरिक र अन्तर्राष्ट्रिय गरी तीनवटा जहाज डाइभर्ट गरिएको उनले बताए।
बुद्ध एयरको जनकपुरबाट आएको जहाज जनकपुर नै डाइभर्ट भएको छ। त्यस्तै बुद्ध एयरकै सुर्खेतबाट आएको जहाज पोखरा डाइभर्ट गरिएको छ।
कोरियन एयरको जहाज भने दिल्ली डाइभर्ट गरिएको प्रवक्ता शेर्पाले जानकारी दिए। ‘तत्काल खुलिहाल्ने जस्तो अवस्था छैन, छिटो समस्या समाधान गर्न प्रयत्नरत छौं,’ उनले भने।