विद्युतीय गाडीकाे आयात बढ्याे

चालू आर्थिक वर्षको अन्त्यमा विद्युतीय गाडीको आयात ह्वात्तै बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिना (असारदेखि जेठसम्म) ११ हजार ४ सय ६६ वटा विद्युतीय कार, भ्यान र जीप नेपाल भित्रिएका छन् । जेठमा मात्रै २ हजार ९६९ वटा विद्युतीय गाडी भित्रिएका छन् । याे संख्या वैशाखकाे तुलनामा दाेब्बरभन्दा बढी हो ।
गत आर्थिक वर्षको ११ महिनामा ३ हजार ८७० वटा विद्युतीय कार, भ्यान र जीप आयात भएका थिए । नेपालमा ५० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारी साधन भित्रिने गरेका छन् । सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका गाडी आयात हुने गरेका छन् ।
गत फागुन र चैत महिनाको तुलनामा वैशाखमा विद्युतीय गाडीको आयात दोब्बरभन्दा बढीले भएको छ भने जेठमा करिब तेब्बरले बढेको छ ।