कैलालीका ३० भन्दा बढी उद्याेगलाई अनुदान

कैलाली जिल्लामा एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाका ३० भन्दा बढी उद्योगलाई अनुदान प्रदान गरेिएकाे छ ।
घरेलु तथा साना उद्योग कार्यालयले आ ब २०८०/८१ मा जिल्लाका १० निर्वाचन क्षेत्रका उद्योगलाई छनोट गरी अनुदान प्रदान गरेको हाे । लामो समयदेखि सञ्चालनमा रहेका उद्योगको स्तरोन्नति गर्न एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’ कार्यान्वयनमा ल्याएको बताइएकाे छ । प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको कैलालीमा ३० भन्दा माथि संचलानमा रहेका उद्योगलाई छनोट अनुदान दिइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको याे कार्यक्रमका लागि गत आ व मा एक करोड ५० लाखभन्दा बढी बजेट विनियोजन गरिएको थियाे । घरेलुमा दर्ता भई सञ्चालनमा रहेका उद्योगको स्तरोन्नतिका लागि अनुदान दिइएकाे हाे । छनोट गरिएका उद्योगलाई तीनदेखि पाँच लाखसम्म अनुदान उपलब्ध गराइएको लेखा अधिकृतले बताएका छन् ।
छनोट भएका उद्योगका सञ्चालकले उद्योगलाई आवश्यक पर्ने औद्योगिक उपकरणलगायत सामग्री खरिद गरेको बिल कार्यालयमा उपलब्ध गराएपछि खरिद गरेको बिलका आधारमा रकम भुक्तानी गर्ने कार्यालयले जनाएको छ ।
उद्योगीको २० र प्रदेश सरकारको ८० प्रतिशत साझेदारीमा अनुदान दिइएको छ । सो कार्यालयका अनुसार डेरी, फर्निचर, मौरी पालन, कृषिजन्यलगायत स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई छनोट गरी अनुदान दिइएकोछ ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा उक्त कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालयमार्फत सञ्चालन भएको छ । यो कार्यक्रमले उद्योगीलाई थप हौसला मिलेको छ ।