मीनबहादुर गुरुङकाे फराकिलो मन : प्राकृतिक विपत्तिमा अग्रता

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रूपैयाँ सहयोग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुरुङ दम्पतीले भेटेर प्राकृतिक विपत्ति उद्धार कोषमा जम्मा हुने गरी एक करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री ओली विदेश भ्रमणबाट सोमबार फर्केलगत्तै गुरुङ दम्पतीले उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरेको हो । उक्त खबर प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् । ओलीले लेखेका छन्, ‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनु भयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ।’
बाढी पहिरोका कारण जनसँगै अर्बौको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको गुरुङले बताएका छन् । गुरुङले यस अघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड बराबरको सहयोग गरे भने । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा रहेको छ ।
समाज सेवा र देशलाई अप्ठेरो अवस्थामा व्यवसायी मीनबहादुर गुरुङ्गले हरेक पटक आफ्नो उपस्थिति देखाउने गर्दछन् ।
बितेको वर्ष जाजरकोट भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक ८० लाख बराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए ।
कोभिडका समयमा पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए । २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए । ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका हुन् ।