फेरि एक वर्ष थपियाे नारायणघाट–बुटवल सडक आयोजनाको म्याद

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रो पटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो ।
नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले आयोजनाको चौथो पटक म्याद थपिएको बताए । ‘चौथो पटक थप भएको म्याद अन्तिम हो’, उनले भने, ‘निर्माण कम्पनीले यस अवधिमा सडक निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएकाले म्याद थप गरिएको हो ।’ हालसम्म पूर्वी खण्डमा दाउन्ने बाहेकका सबै ठाउँमा कालोपत्रको काम सकिएको जानकारी दिँदै उहाँले बाँकी काम पनि एक वर्षभित्र सकिने बताए ।
थप गरिएको समयमा पूर्वी खण्डको करिब ६५ किलोमिटर चार लेन सडक, सडकको बिचमा रहने डिभाइडर, साढे १७ किलोमिटर सर्भिस लेनको काम सकिने खनालको भनाइ छ ।
सडक विस्तारको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले भने थप भएको समयभित्र सबै काम सकाउन कठिन भएको जनाएको छ । कर्पोरेसनका ठेक्का सह व्यवस्थापक राकेश झाले आफूहरूले काम पूरा गर्न १८ महिना लाग्ने भन्दै सोहीअनुसार म्याद थप मागेको भए पनि सरकारले एक वर्ष मात्रै म्याद थप गरेको बताए ।
अहिले सडकको दाउन्ने खण्डमा ढलानको काम भइरहेको उनले बताए । दाउन्ने क्षेत्रको ढलानसँगै अरुण खोला र गिरुवारी खोलामा पुल निर्माण भइरहेको उनले बताए ।
गिरुवारी खोलाको पुलमा ढलानका लागि ६ वटा स्ल्याप राख्नुपर्ने उल्लेख गर्दै उनले दुई वटा पूरा भएको र बाँकी चार वटा निर्माणको चरणमा रहेको जानकारी दिए । दाउन्ने क्षेत्रमा बन्नुपर्ने २२ वटा कल्भर्टमध्ये तीन वटा, सडकको दुवैतर्फ ६ मिटर चौडाइको १७ दशमलव चार किलोमिटर सर्भिस लेनको काम बाँकी रहेको उनले जानकारी दिए ।
गैँडाकोटको नारायणी नदीको पुलसँग जोडिने करिब एक सय मिटर सडक कालोपत्र गर्न बाँकी छ । उक्त सडकको किनारमा ग्याबिन राखेर माटो भर्ने काम सकिएको छ ।
तीन सय जना श्रमिक राखेर सडक विस्तार भइरहेको उल्लेख गर्दै उनले अब सडक विस्तारमा कुनै पनि कुराको अवरोध नभएकाले तीव्र गतिमा काम हुने बताए ।
निर्माण कम्पनीले सात वर्ष अगाडि नेपाल सरकारसँग ४२ महिनाभित्र सडक विस्तार पूरा गर्ने सम्झौता गरी वि.सं २०७५ साल माघ २४ गतेदेखि काम सुरु गरेको थियो । कूल ११४ किलोमिटर सडकमध्ये पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) ६५ किलोमिटरको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार तथा पश्चिम खण्ड (दाउन्ने–बुटवल) ४९ किलोमिटरको लागत रु सात अर्ब ८६ करोड ३४ लाख गरी जम्मा रु १६ अर्ब ९९ करोड ५२ लाख रहेको छ ।