वीरगञ्ज नाकाबाट दुई महिनामा २६ अर्बको पेट्रोलियम आयात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो ।
गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । आयात बढेसँगै एक अर्ब २९ करोड बढी राजस्व समेत सङ्कलन भएको छ ।
त्यस्तै चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड सङ्कलन गरेको छ ।
चालु आवको दुई महिनामा रु ११ अर्ब ९१ करोडको एक लाख ३२ हजार आठ सय २४ किलोलिटर डिजेल आयात गरिँदा रु पाँच अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा रु चार अर्ब ५१ करोड राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए ।
चालु आवको दुई महिनामा रु ६ अर्ब ८२ करोडको ८० हजार पाँच सय ६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले रु चार अर्ब ५४ करोड राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै चालु आवको दुई महिनामा पाँच अर्ब १२ करोडको चार करोड ९५ लाख ६६ हजार ६ सय ६४ किलो एलपी ग्याँस आयात हुँदा ९६ करोड राजस्व सङ्कलन भएको छ ।