आउँदो निर्वाचनमा युवालाई व्यापक अवसर दिन्छौँ – प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा युवा पुस्तालाई अग्रभूमिमा ल्याउने तयारी अघि बढाएको बताएका छन्।
शनिबार (मंसिर ६) पेरिसडाँडामा वाईसीएल नेपालले आयोजना गरेको कार्यक्रममा उनले पार्टी र देशको नेतृत्व अब नयाँ पुस्ताले सम्हाल्नुपर्ने समय आएको बताए।
प्रचण्डका अनुसार पार्टीभित्र पनि आगामी चुनावमा युवाहरूलाई ठूलो संख्यामा अवसर दिनेबारे गम्भीर छलफल चलिरहेको छ।
उनले पार्टीका विभिन्न तह–कमिटीमा समेत युवाको सहभागिता उल्लेख्य बनाउने दिशामा तयारी भइरहेको जानकारी दिए।
युवालाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा सशक्त नेतृत्वमा रुपान्तरण गर्ने लक्ष्य पार्टीले लिएको प्रचण्डले उल्लेख गरे।
कार्यक्रममा प्रचण्डले भने—
“हामी अहिले जुन पुस्तामा छौँ, अब अर्को नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी सुम्पने सपना देख्नुपर्छ। नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा युवालाई तयार पार्ने संकल्प हाम्रो हो। पार्टीमा पनि छलफल भएको छ—आउँदो चुनावमा धेरैभन्दा धेरै युवालाई अवसर दिने, पार्टी कमिटीहरूमा पनि उनीहरूलाई अगाडि ल्याउने निर्णयको तयारी हुँदैछ। नयाँ पुस्तालाई जिम्मेवारी सुम्पनु पुराना पुस्ताका क्रान्तिकारीहरूको कर्तव्य हो।”
उनले युवापुस्तालाई नेतृत्व हस्तान्तरणको वातावरण बनाउन पार्टी प्रतिबद्ध रहेको बताएका छन्।