छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको आराेपमा अरुण चाैधरी पक्राउ

उद्याेगी व्यवसायीकाे आपत्ति, धरपकड नगर्न चेतावनी
बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा सीआइबीले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ ।
छाला उद्योगको १० रोपनी जग्गा हडपेर चाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा उनलाई पक्राउ गरिएको सीआइबी स्रोतले जनायो । चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापा पनि पक्राउ परेका छन् ।
२०४२ देखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा छालाजुत्ता कारखानाको पन्चायतकालको सन्चालक समिति निर्णयको आडमा चौधरी र थापालगायतले हडपेको पाइएकाले पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
उद्योगी व्यवसायीहरुले उद्यमी चौधरीलाई दोषी जसरी पक्राउ गरिँदा आफूहरु अचम्मित भएको भन्दै आपत्ति जनाएका छन् । यस किसिमको पक्राउले उद्योगी व्यवसायीको मानमर्दन हुने उनीहरुले बताएका छन् ।
निजी क्षेत्रले बिहीबार राजधानीमा गरेकाे पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगीलाई धरपकड गर्नु राम्रो नभएको बताए । ‘लगानी सम्मेलनको तयारी भएको बेला अरुण चौधरीलाई पक्राउ गर्नु राम्रो भएन, उनी भाग्ने मान्छे होइनन् तर दोषी नै भए जसरी पक्राउ गर्नुपर्ने थिएन,’ उनले भने ।
इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई सरकारले पेल्दै ल्याएको बताए । निजी क्षेत्रको विकास नभई देश विकास नहुने उनको भनाइ थियो । नाडाका उपाध्यक्ष निराकर श्रेष्ठले चौधरी पकाउ परेको सुन्दा आफू सक्ड भएको बताए ।