सेयर काराेबारी अग्रवाल पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ ।
उनलाई शुक्रबार काठमाडौंको चुनदेवीबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । अग्रवालविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेको देखिएको छ।
बोर्डले गरेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरेका थिए तर उनले धितोपत्र सम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) बमोजिम झुक्क्याउने विवरण दिएर भ्रामक सूचना सार्वजनिक गरेको आरोप छ।
उक्त दफाको ‘ग’मा भनिएको छ, ‘बदनीयत साथ कुनै तथ्य वा जानकारी लुकाउने र बदनीयत साथ झूटा वा भ्रामक विवरण प्रतिज्ञा वा पूर्वअनुमान बनाउने वा प्रकाशित गर्ने ।’
यसरी बदनीयत राखेर उनले सेयर बिक्री गरी ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानुन विपरीत नाफा कमाएको एसएसपी श्रेष्ठले बताए।
अग्रवालले अन्य टिएमएस युजर प्रयोग गरी आपसी खरिदबिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको आरोप छ ।