सेयर बजारमा तीव्र उतारचढाव

वर्षमान पुनले अर्थमन्त्रीकाे शपथ लिएको भोलिपल्ट बिहीबार सेयर बजारमा तीव्र उतारचढाव देखियो ।
२०२०.९५ विन्दुबाट खुलेको (११ बजे) सेयर बजार तीव्र वृद्धि हुँदै १२ मिनेटमै २०४०.७४ विन्दुसम्म पुग्यो । त्यसपछि बजार फेरि घट्न थाल्यो । ११ः३० बजेसम्म बजार २०२२.७३ विन्दुमा झर्यो । बजारको तीव्र गिरावटपछि फेरि बढ्दै घट्दै गरेर अन्ततः २०३०.५५ विन्दुमा रोकियो । समग्रमा बजार ०.६७ प्रतिशतले बढ्याे । १३.५१ अंकले बढेको बजारमा होटल तथा पर्यटन, म्युचुअल फण्ड र ट्रेडिङ समूह घटेको छ । बाँकी सबै समूहमा बढोत्तरी छ ।
पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिख्र्वा हाइड्रोपावर, मध्य भोटेकोशी, बुद्धभूमि हाइड्रोपावर नेपाल लगायतका कम्पनीको सेयर बढेको छ । यस्तै एनआइसी एशिया ग्रोथ फण्ड २, समलिङ हाइड्रोपावर, बोटलर्स नेपाल तराईलगायतको सेयर मूल्य भने सर्वाधिक घटेको छ । बिहीबार ३ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
सुरुमा तीव्र वृद्धि भएको बजारमा लगानीकर्ता पूर्ण विश्वस्त हुन सकेको देखिँदैन । अर्थमन्त्री पुनले बुधवार कार्यभार सम्हाल्दै गर्दा लगानीकर्ताको मनोबल बढाउने गरी काम गर्नुपर्ने बताएका थिए ।