सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १७ औं वार्षिकोत्सवका अवसरमा बालविकास समाजलाई आर्थिक सहयोग स्वरुप एक लाख पचास हजार रुपैयाँ प्रदान गरेको छ । समाजले करिब एक दशकदेखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार र शिक्षा प्रदान गर्दै आएको छ ।
बैंकले एक समारोहबीच उक्त रकमको चेक संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतमलाई प्रदान गरेको हो । बालविकास समाजमा रहेका ८० जना बालबालिकामध्ये १५ जनाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने गौतमले जानकारी दिए ।
हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ । बैंकले आफ्नो १७ औं वार्षिकोत्सव वैशाख ७ गते मनाउँदै छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।