प्रहरी धरपकडले बैंकिङ क्षेत्र त्रसित

वाणिज्य बैंकका कार्यकारी अधिकृत (सीइओ) हरुले सीआइबीले राष्ट्र बैंकसँग समन्वय नै नगरी बैंकरहरुलाई धरपकड गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
धितोको मूल्याङ्कनभन्दा करिब दोब्बर बढी कर्जा देउराली सहकारीका सञ्चालकहरुलाई प्रवाह गरेको आरोपमा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतद्वय तुल्सीराम गौतम र मनोज न्यौपानेसहित १० बैंकरलाई सीआइबीले मंगलबार बैंकिङ कसूरमा पक्राउ गरेपछि बैंक तथा वित्तीय संस्थाहरुमा आतङ्क छाएको छ ।
सीआइबीको हस्तक्षेप र धरपकडविरुद्ध विभिन्न बैंकका कर्मचारीहरुले आन्दाेलन गर्ने तयारी गरेपछि सीइओहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन (एनबीए) बुधबार थापाथलीस्थित कार्यालयमा आकस्मिक बैठक डाकेको थियो । जसमा २० वटै वाणिज्य बैंकका सीइओ र तिनका प्रतिनिधि सहभागी थिए । बैठकमा सीआइबीले धितोको विषयमा कुरै नबुझी धरपकड गरेको विषय उठेको थियो ।
एनबीएका अधिकारीहरुले बुधबारै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, सीआइबीका सिनियर अधिकृतदेखि गृह मन्त्रालयका उच्च अधिकारीहरुसम्म भेट गरे । गभर्नर अधिकारीले आफ्नो ठाउँमा सही गर्ने बैंकरहरुले डराइहाल्नुपर्ने कुनै कारण नरहेको जवाफ दिएका थिए । त्यसपछि एनबीएका अध्यक्ष सुनिल केसी लगायतको समूहको प्रहरी र गृह मन्त्रालयका अधिकारीहरुलाई भेटेका थिए । ‘कतिपय प्रहरी अधिकृतले नेपालका बैंकहरुले प्रवाह गर्ने गरेका लोनहरुकै विषयमा नबुझेको देखियो,’ छलफलमा सहभागी एक सीईओले भने, ‘धितोलाई बुझ्ने विषयमा समेत प्रहरीमा कन्फ्यूजन देखियो ।’
उनीहरुले लोन प्रवाह गर्न सकिने अवस्था, लोनका प्रकार लगायत विषयमा प्रहरी र गृहका अधिकारीलाई बुझाएका थिए । राष्ट्र बैंकको समन्वयबिना बैंकरमाथि प्रहरीबाट बैंकिङ कसूरअन्तर्गत धरपकड भएकाे र कम मूल्यको धितोकै कारण पक्राउ गरिएको हो भने त्यो गलत रहेको उनीहरुकाे जिकिर थियाे । गृहका अधिकारीहरुले पनि उनीहरुलाई निर्दोषलाई फस्न नदिने विषयमा आश्वस्त पारेर पठाएका थिए ।