९१ देशसँग नेपालकाे व्यापार घाटा

चालु आर्थिक वर्षको पहिलो महिना विश्वका १०२ भन्दा बढी देशसँग व्यापार (आयात र निर्यात) गरेको नेपालले ९१ देशसँग घाटा बेहोरेको छ । व्यापार गरेको अधिकांश देशसँग घाटा बेहोरेको मुलुकले १२ वटा देशसँग मात्र केही नाफा गरेको हो ।
भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको हो ।
समीक्षा महिनामा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ घाटा लागेको छ । अघिल्लो वर्षको साउनमा आयात निर्यातमा सरकारलाई १ खर्ब १५ अर्ब रुपैयाँ घाटा लागेको थियो ।
साउनमा भएको कूल व्यापारमध्ये सबैभन्दा बढी भारतसँग ७७ अर्ब ६८ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने यताबाट ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । समीक्षा अवधिमा भारतसँग नेपालले खुद ७० अर्ब १० करोड ४२ लाख रुपैयाँ घाटा बेहोरेको छ ।
यसैगरी चीनबाट २४ अर्ब ५४ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपालले जम्मा १५ करोड ७६ लाख रुपैयाँ बराबरको मात्र निर्यात गर्न सकेको छ । चीनतर्फको व्यापारमा मुलुकलाई कूल २४ अर्ब ३८ करोड ४७ लाख ४६ हजार रुपैयाँ घाटा लागेको छ ।