आईपीओ जारी गर्दै स्टेल ड्रिम पार्क

स्टेल ड्रिम पार्कको साधारण शेयर (आईपीओ) जारी हुने भएको छ । उक्त पार्ककको सञ्चालक कम्पनी आयु इन्टरटेनमेन्टले जारी पूँजीको २० प्रतिशतले हुनेगरी सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको हो ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको दरले ३० लाख कित्ता शेयर निष्कासन हुनेछ । उक्त शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ ।
यसका लागि बुधबार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरीस्थित कार्यालयमा दुई पक्षबीच बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएकाे थियाे ।
सम्झौतापत्रमा आयु इन्टरटेन्मेन्टका तर्फबाट अध्यक्ष कदम केसी तथा नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेज्यूले हस्ताक्षर गरे ।
सारथी ग्रुप सहितको लगानी रहेको उक्त पार्कमा देशकै प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीको लगानी रहेको छ । करिब ५७ रोपनी जग्गामा फैलिएको उक्त पार्कमा वाटर पार्क, वेब पुल तथा साहसिक खेलको सुविधा रहेको छ ।
अर्कोतिर नेपाल लाइफ क्यापिटल नेपाल लाइफ इन्स्योरेन्सको सहायक मर्चेन्ट बैंकिङ कम्पनी हो । यो क्यापिटलले धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त गरेको छ ।